General

प्रेस विज्ञप्ति

                                                                                                                                                                                                                                                                मिति: २०८३/०१/१५
                                                                                                                                                   प्रेस विज्ञप्ति
हालै सामाजिक सञ्जाल फेसबुकमा अविरल पोख्रेल नामक व्यक्तिद्वारा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) सँग सम्बन्धित विषयलाई लिएर सार्वजनिक गरिएको अभिव्यक्तिप्रति कलेजको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त व्यक्तिद्वारा “सरकारी जग्गामा दरबार निर्माण, राजनीतिक पहुँचका आधारमा उन्मुक्ति” जस्ता गम्भीर आरोपहरू लगाउँदै संस्थाको नाम जोडेर गरिएको टिप्पणी पूर्णतः आधारहीन, भ्रामक तथा कलेजको प्रतिष्ठामाथि सुनियोजित आघात पुर्‍याउने उद्देश्यले गरिएको दुष्प्रचार हो। यस अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टसँग सम्बन्धित सम्पूर्ण जग्गा विधिसम्मत रूपमा दर्ता भएको, वैधानिक लालपुर्जा प्राप्त रहेको तथा कलेजका सम्पूर्ण भवन तथा संरचनाहरू सम्बन्धित निकायबाट विधिवत् स्वीकृत नक्सा पास अनुसार निर्माण सम्पन्न भएका तथ्य पुनः प्रष्ट पार्न चाहन्छौँ। “सरकारी जग्गामा निर्माण” भन्ने आरोप निराधार, कपोलकल्पित र जनमानसमा भ्रम सिर्जना गर्ने नियतले फैलाइएको असत्य प्रचार मात्र हो। स्थापनाको २६ औँ वर्षसम्ममा हजारौँ विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको यस कलेजमाथि कुनै व्यक्तिले तथ्य, प्रमाण र आधिकारिक पुष्टिबिना यस्ता गम्भीर आरोप सार्वजनिक गर्नु अत्यन्तै गैरजिम्मेवार, अनैतिक तथा कानुन विपरित कार्य हो। अभिव्यक्ति स्वतन्त्रताको नाममा संस्थागत चरित्रहत्या गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। यस सन्दर्भमा कलेज प्रशासन सबै विद्यार्थी, अभिभावक, सरोकारवाला, शिक्षाप्रेमी तथा आमनागरिकलाई यस्ता भ्रामक र दुष्प्रचार जन्य सामग्रीबाट भ्रमित नहुन हार्दिक अनुरोध गर्दछ। यदि कुनै आधिकारिक व्यक्ति वा सङ्घसंस्थालाई कलेजको जग्गा तथा संरचनासम्बन्धी कागजात जाँचबुझ गर्न इच्छा भएमा कलेजमा सम्पर्क गरी आवश्यक प्रमाणहरू हेर्न सकिने जानकारी गराउँदछौँ। साथै कलेजको प्रतिष्ठा, विश्वसनीयता तथा संस्थागत मर्यादामा आघात पुर्‍याउने उद्देश्यले गरिएको यस्ता दुष्प्रचारमा संलग्न व्यक्ति वा समूहविरुद्ध प्रचलित कानुनबमोजिम कडा भन्दा कडा कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकारसँग जोडदार अनुरोध गर्दै सत्य, तथ्य र प्रमाणमा आधारित अभिव्यक्ति नै स्वस्थ समाज तथा संस्थागत विश्वासको आधार भएकोले सबै पक्षलाई जिम्मेवार, संयमित र तथ्यपरक अभिव्यक्ति दिन हार्दिक अपिल गर्दछौँ।
कलेज प्रशासन
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM)
गैंडाकोट, नवलपुर